किन सदियौं देखि दर्बार र कोठीहरूमा ... चोक र गल्लीहरुमा, सडकमा, घरमा, रेस्टुराँमा, सिनेमामा, मन्चमा र मेहेफिलहरुमा केवल नारी सौन्दर्यको विनिमय गरिदै आएको छ ? खै कहाँ छ पुरुष वेश्यालय ? किन किन्ने र बेच्नेहरु सधैं पुरुष अनि बेचिनेहरु नारीमात्र हुदै आएका छन ?तिम्रो पुरुषप्रधान समाजले अनेक नीति नियम खडा गरेर हामीलाई र हाम्रो रहरलाई संस्कारको जाँतोमा पिधेका छौं । हाम्रो यौवन र शरीरलाई थुनेका छौ, पिंजडामा कैद गरेका छौ । केवल उपभोग्य सामान जस्तै हाम्रा अनमोल यौवनहरु किनेका छौ, बेचेका छौ । तर यो सिलसिलाको अन्त्य अवश्यम्भावी छ, क्रमभंग निश्चित छ, किनकी समय परीवर्तनशील छ ।
म शरीरलाइ प्रेम गर्छु, मलाइ आत्माको बन्धनमा कुनै विश्वास पनि छैन ।आशा छ तिमी पनि म फर्केर आउने बाटो कुर्ने छैनौ ।
प्रेमा
[ तिर्खा कथा संग्रहबाट साभार ]


















